राक्सीराङका चेपाङ्गसहित ४ सय ५० घरधुरीलाई १० लाखको राहत वितरण

0
99

चितवन,असार ७ – चितवन र मकवानपुरको सिमानामा पर्ने राक्सीराङ गाउँपालिका सिलिङ्गे गाँउका चेपाङसहित विपन्न ४ सय ५० घरधुरीलाई खाद्यान्न सहयोग गरिएको छ ।
सौराहाका युवा पर्यटन व्यवसायी शिरलाल परियारको अगुवाईमा १० लाख रुपैयाँ बराबरको खाद्यान्न आज राक्सीराङ गाउँपालिका वडा ६ का स्थानियहरुलाई हस्तान्रण गरिएको हो ।

स्थानियलाई एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको व्यवसायी तथा ग्रिन सोसाईटी नेपाल सौराहाका महासचिव समेत रहेका शिरलाल परियारले जानकारी दिए ।

राक्सीराङ गाउँपालिका वडा ६ का वडा अध्यक्ष सिंहलाल प्रजाको प्रमुख आतिथ्यतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा प्रति घर २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, २ पोका मस्यौरा प्रदान गरिएको थियो । भने यस्तै १२ बढी घर परिवारलाई खान पकाउने र खाने भाडा समेत सहयोग गरिएको थियो ।

बर्षिेनी अनिकालको चपेटामा रहेका यहाँ चेपाङ्गसहितका विपन्न समुदायले यो पटक लकडाउनका कारण खाद्य संकट नै आईपरेको वेलामा आएको सहयोगले ठुलो राहत मिलेको वडा अध्यक्ष प्रजाले बताए ।

उनले राक्सिराङ्गमा यसरी पहिलो पटक सबै वडावासीहरुलाई पुग्ने गरि राहत वितरण भएको भन्दै दाताहरुको सहयोगमा हस्तान्तरण गर्न पाएकोमा सहयोगीमनहरुलाई धन्यवाद प्रकट समेत गरे ।

“हामी स्थानिय सरकार भएर पनि चेपाङ्ग, तामाङ्ग र मगर समुदायको बाहुल्यता रहेको यहाँ कुनै सहयोग गर्न सकेका थिएनौँ, तर शिरसरसहित विदेशी टिमले सहयोग पठाएर राहत बाडिएको छ । अब भने, यहाँ ढुक्कसँग चुल्लो बल्नेछ ।”
विभिन्न सामाजिक कार्यमा संलग्न परियार यो पटक समस्यामा परेका विपन्न समुदायलाई आफ्ना विदेशी साथीहरु मार्फत सहयोग जुटाउदै ठाँउ–ठाँउमा राहत बाड्दै आएका छन् ।

पर्यटन व्यवसाय ठप्प रहेको वेला विभिन्न सञ्चारमाध्यममा यहाँका विपन्न परिवारले खान नपाएको खबर थाहा पाएपछि सञ्चारकर्मी र चेपाङ्ग अगुवाका रुपमा परिचित केपीकिरण शर्मा मार्फत सहयोग अभियान उनीसहितको टिमले थालेको थियो।

“खाद्यान्न अभाव झेलिरहेका चेपाङ वस्तीमा सहयोग गर्न पाउँदा खुशी लागेको छ”, पर्यटन व्यवसायी परियारले भने, “जर्मन, हल्याण्डका साथीले गरेको सहयोग वितरण गरेका हौँ ।” सौराहामा होटल पार्कसाइड सञ्चालन गरेका परियार सामाजिक कार्यमा पनि त्यतिकै सक्रिय छन् । चेपाङवस्तीमा खाद्यान्न संकट निवारणका लागि शिरलाल परियारले विदेशमा रहेका दाताहरुसँग समन्वय जारी राखेका छन् ।

परियारले राक्सिराङ्गमा भने हेल्प डेक्स खैरहनीसँग समेत सहकार्य गरि यहाँ राहत बाडेको बताए । यो पटक यहाँको ४ सय ५० घरधुरीलाई नेपाल हिल्फ डिरेक्ट र अफ्रिका लुज द ईस्लानको सहयोग राहत वितरण गरेका हुन् ।
अब छिटै अन्य भोकमरी रहेको विकट गाँउ पुगेर राहत बाड्ने उनले बताए ।हेल्प डेक्स खैरहनीका संयोजक तथा ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा समाजिक अभियान्ता मुरली गजुरेल, ग्रीन सोसाईटीकी सदस्य शुसिला चौधरी, वसन्त, अशोक न्यौपाने, शान्तमणि नहर्की, रामजी कुँवर लगायतको सक्रियतामा यहाँ पहिलो पटक ठुलो संख्यामा राहत जुटेको हो ।