सरकारले चीनबाट भेरोसिल खोप खरिद गर्ने

0
83

काठमाडौँ,असार ४– सरकारले सोमबारको क्याबिनेट बैठकले चीनबाट भेरोसिल खोप ५० लाख डोज खरिद गर्ने सैध्दान्तिक निर्णय गरेको छ । चीनले घनिष्ठ छिमेकी मुलुकको नाताले नेपाललाई उपलब्ध गराउने खोपको मूल्य सार्वजनिक गर्न नहुने शर्त मात्र राखेको छ । ‘नन डिस्क्लोजर’ शर्तमा दस्तखत गरेपछि नेपालले कुनै पनि हालतमा खोपको मूल्यबारे बताउन पाउने छैन । त्यसैको लागि क्याबिनेटबाट निर्णय गराइएको स्रोतको दाबी छ ।

पहिले ५० लाख डोज खरिद गर्ने र त्यसपछि आवश्यकताअनुसार क्रमशः थप खोपको निम्ति प्रक्रिया अघि बढ्ने बताइएको छ । चीनको शर्त,खोपको मूल्यका आधारमा राज्यले कानुन,स्रोत र साधनलाई दृष्टिगत गर्दै खोप खरिद प्रक्रिया अघि बढेको हो । यसअघि खोप खरिद अवरुध्द प्रक्रियालाई चिरेर नेपाल अघि बढेको बताइन्छ ।

स्रोत भन्छ-नेपाल सरकारले अब सबै खोप किनेर ल्याउने मनस्थिति बनाएको छ । खरिद प्रक्रियामा कुनै समस्या नआओस् भन्नाको लागि जीटुजी मोडल अपनाइएको हो । यसअघि भारतको सेरम इन्स्टिच्युटसँग किनिएको प्रक्रिया झैँ चीनबाट खरिद गर्ने खोपको लागि पनि उही प्रक्रिया अपनाइएको हो ।

चीन सरकारले राज्य नियन्त्रित साइनोफार्मसँग खोप किनेर नेपाल सरकारलाई उपलब्ध गराउनेछ । भारतको सिरम निजी कम्पनी हो भने साइनोफार्म राज्य नियन्त्रित हो । चीनले यसबीच पाकिस्तानलाई स्थानीयस्तरमा खोप उत्पादनको लागि कारखाना नै बनाइदिइएको छ । तर,चीनबाट दक्षिण एसियामा सबैभन्दा धेरै खोप अनुदानमा प्राप्त गर्ने मुलुकमध्ये नेपाल पहिलो रहेको सरकारी अधिकारीहरुले दाबी गरेका छन् ।

साइनोफार्मबाट खरिद गर्न लागिएको खोपको मूल्य औपचारिक रुपमा बाहिर ल्याइएको छैन । चीनको आन्तरिक बजारमा उक्त खोप १४ देखि १५ चिनियाँ युआन पर्ने बताइएको छ । चीनमा केन्द्र सरकारले विभिन्न प्रान्तलाई उपलब्ध गराउँदा त्यसको मूल्य १७ युआन उल्लेख गर्ने गरिएको स्रोतले बताएको छ ।

तर केही समयअघि चीनबाट खोप किनेको फिलिपिन्सले प्रति डोज ३५ डलरमा खरिद गरेको बताइन्छ । बाहिर नखुलाइए पनि नेपाललाई १० डलरसम्ममा चीनले उपलब्ध गराउने आँकलन गरिएको छ ।

नेपालले खरिद गर्न लागेको भेरोसिल खोप कूटनीतिक प्रयासमा गरिएकाले धेरै सस्तो भाउमा पाउन लागेको अड्कल लगाइएको छ । स्रोत भन्छ- ‘नेगोसियसनमा चीनले रिजनबेल मूल्यमा दिन्छु भनेको छ । सम्भवतः लोवेष्ट मूल्य हुन्छ ।’ त्यसमा परराष्ट्र मन्त्रालयको उच्च तहले आवश्यक सहजिकरण गरेको बुझिएको छ ।

चीनको राजनीति,कूटनीति र व्यापारिक रणनीतिअनुसार पनि छिमेकी नेपाललाई खोप उपलब्ध गराउनु यतिखेर महत्वपूर्ण हुँदै गएको हो । हामीलाई पनि चीनबाट खोप किन्नु जत्तिको सहज अन्यत्रबाट देखिएको छैन । त्यसैको आधारमा सोमबारको क्याबिनेटले सैध्दान्तिक निर्णय गरेको हो ।

खोप खरिदको लागि परराष्ट्रले चीनसँग आवश्यक सहजिकरण गरे पनि आवश्यक काम र प्रक्रिया सबै काम स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले गरेको हो । चीनसँग भएका वार्तामा खोपको मूल्य,खोप संख्या र तोकिएको समयमा डेलिभरी गर्न चीन तयार भएको हो । बीचमा कुनै अप्ठेरो अवस्था आएमा पुनः कूटनीतिक संयन्त्रमार्फत् सहजिकरण गरिने भनिएको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतले भनेको छ ‘यी सबै कामको नेगोसिएसन स्वास्थ्य सेवा विभागमा बसेर गरिएको हो । परराष्ट्रले मानवीय र कूटनीतिक सहयोगमा सहजिकरणको निम्ति प्रोएक्टिभ काम भने गरेको हो ।’

विगतलाई मध्यनजर गर्दै खोप खरिदमा आन्तरिक पारदर्शी कायम गरिएको बताइन्छ । यसबीचमा देखापर्न खोजेका केही औषधी र खोप माफिया तथा बिचौलियाहरुले खोप खरिदमा हस्तक्षेप गर्न खोजे पनि कूटनीतिक संयन्त्रका कारण पछाडि परेका थिए । त्यसैले यसमा नेपालको स्वास्थ्य सेवा विभाग र परराष्ट्र मन्त्रालयबाहेक कसैको पनि संलग्नता नरहेको बताइन्छ।