काठमाडौं उपत्यकामा थपियो एक साता लामो निषेधाज्ञा, के के खुल्छन?

0
179

काठमाडौं, जेठ ३०- काठमाडौं उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ। आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार साबिकको भन्दा आइतबार थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ।

अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ। विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर)लाई बेलुका चार बजेदेखि खुल्न दिने निर्णय भएको छ।

यसअघी खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिईएकोमा अब देखी ती पसल ११ बजेसम्म खोल्न दिने निर्णय भएको भट्टराईले बताएका छन ।यो पटक पुस्तक पसललाई पनि थप गरिएको छ।

होटलमा ‘टेक अवे’ सेवालाई निरन्तरता दिने निर्णय भएको उनले बताए। अनलाइन डेलिभरीका लागि होटलहरूलाई बिहान ७ बजेदेखि काम गर्न दिइने उनले बताए।

विकास निर्माणका काममा स्वास्थ्य मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।

वर्कसपहरू बिहानदेखि बेलुकीसम्मै खोल्न पाइने निर्णय भएको भट्टराईले बताए।

अत्यावश्यक सेवाका लागि यातायातका साधन आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा प्रमुख जिल्ला अधिकारीले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।

एम्बुलेन्स, शव बाहनलगायत स्वास्थ्य सेवामा खटिने साधनले परिचय पत्र देखाउनु पर्दैन।

बैंक तथा वित्तीय संस्थाका लागि पनि केही नियम खुकुलो बनाइएको छ। पहिले जिल्लामा दुई वटा बैंकका शाखा सञ्चालन गर्न दिइएको थियो। यसमा सामान्य सहजीकरण गरिएको भट्टराईले बताए।

सहकारीका लागि सातामा दुई दिन खोल्न दिने निर्णय भएको छ। बैंकहरूको अरू शाखा खोल्नका लागि राष्ट्र बैंकले नियम ल्याउने छ।  ‘कति शाखा, कति दिन खोल्ने भन्ने राष्ट्र बैंककै प्रोटोकलअनुसार खोल्न सकिने छ,’ भट्टराईले भने।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै थियो। त्यसको पूर्वसन्ध्यामा प्रमुख जिल्ला अधिकारीहरूले नयाँ निषेधाज्ञा जारी गरेका हुन्।

उपत्यकामा कोरोना संक्रमणको दर उल्लेखनीय रूपमा नघटेसम्म निषेधाज्ञालाई कायम राख्ने सरोकारवाला निकायको सिफारिस बमोजिम निषेधाज्ञालाई निरन्तरता दिइएको भट्टराईले बताए।

उपत्यकामा संक्रमणदर १० प्रतिशतमा झरेपछि मात्रै निषेधाज्ञा हटाएर क्रमश: ‘लुजडाउन’मा जानुपर्ने सुझाव सरोकारवाला निकायको रहेको सिडिओहरूले बताएका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कृषिजन्य कामका लागि मल ढुवानी र बीऊ बिजनका पसलहरू खुल्न दिने निर्णय भएको छ।

कूटनीतिक निकायबाट जारी हुने भिसा, परीक्षा र अन्तर्वार्ता खुला गरिएको उनले जानकारी दिए।