संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने

0
326

यूएई, जेठ १७ – कोरोना भाइरस विरुद्ध लड्न नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। यूएईले १ सय ५० भेन्टिलेटरसहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो।

यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो ।

यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालय तथा यूएईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र आबुधाबी ग्लोबल मार्केट(एडीजीएम)का अध्यक्ष अहमद बिन अलि स्याघबीच आइतबार भर्चुअल बैठक भएको थियो । बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहित यूएईका उच्च अधिकारीहरूको सहभागिता थियो ।

बैठकमा कोभिड–१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न  स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।