चितवनमा कोरोना संक्रमितका शव व्यवस्थापनमा सहज

0
105

चितवन,जेठ १४- कोरोना संक्रमणबाट अकालमा ज्यान गुमाएका सङ्क्रमितको शव व्यवस्थापनलाई सहज बनाइएको छ।

भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र  कालिबहादुर गणका समन्वयमा  शव व्यवस्थापन हुँदै आएको छ।

चितवनसहित छिमेकी जिल्लाका सङ्क्रमितको यहाँका विभिन्न अस्पतालमा उपचार हुन्छ।

महानगरपालिकाको आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बालकृष्ण थपलियाका अनुसार यही जेठ ६ गतेदेखि  हालसम्म ७४ संक्रमितका शव व्यवस्थापन गरिएको छ। तीमध्ये चार शवको परिवारले भारलाग्ने भन्दै आफ्नै खर्चमा व्यवस्थापन गरेका छन्। तीमध्ये दुई शव गाडिएको छ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार शववाहन, दाउरा र खाल्डो खन्नका लागि एक्साभेटरको व्यवस्थापनमा महानगरले सहयोग गर्दै आएको छ।

लायन्स क्लबले थप एक शववाहन उपलब्ध गराएको छ।

संघीय सरकारले शवको व्यवस्थापन गर्ने भनिएको भए पनि तत्काल बजेटको नहुँदा महानगरपालिकाले खर्च गरेको उनले जानकारी दिए। यसअघि पनि एक्साभेटर भने महानगरपालिकाले उपलब्ध गराउँदै आएको थियो। बागेश्वरीस्थित नारायणी किनारमा शव व्यवस्थापन गरिँदै आइएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले महानगरपालिका, कालिबहादुर गण र लायन्सको सहकार्यमा शव व्यवस्थापन हुँदै आएको जानकारी दिए।

शववाहन, दाउरा, खाल्डो खन्ने एक्साभेटर र शवको ओसारपसारमा ती निकायले समन्वयात्मक सहयोग गर्दैआएका छन्।

खाल्डोमा नपुरेर जलाउनेले नजिकै रहेको बागेश्वरीबाट नदी किनारसम्म दाउरा लैजाने, चित्ता बनाउने र जलाउने काम भने मृतकका परिवारले आफ्नो संस्कार अनुसार गर्दै आएका छन्।

गणपति विज्ञानराज खनालका अनुसार हाल सम्म ३ सय ४०  शवको व्यवस्थापनमा सेनाले सहयोग गरिसकेको छ।

जिल्लाका अस्पतालमा ४ सय ८६ को मृत्यु भएकोमा १ सय ४६ को शव आफन्तले बुझेका हुन्। उनले सबैको सहकार्यमा शव व्यवस्थापन सहज बनेको बताए।

शव बिहान ९ बजेदेखि साँझ ५ बजसम्म व्यवस्थापन गरिँदै आएको छ।

होम आइसोलेसनमा मृत्यु भएकाको शवको व्यवस्थापनका लागि शववाहन पठाउने गरिएको छ।

गणपति खनालका अनुसार घरमा शव उठाउने व्यक्ति नभएका ठाउँमा सेना आफैं पुग्ने गरेको छ।

वरिष्ठ पत्रकार ईश्वर जोशीले सङ्क्रमणबाट मृत्यु भएका आफ्नो दाजुको शव व्यवस्थापनमा समस्या नआएको जानकारी दिए।रासस