भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि दिनभर आन्दोलित

0
399

बाँके,जेठ १४- ड्यूटीमा रहेकै बेला स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको भन्दै बाँकेका स्वास्थ्यकर्मी शुक्रबार बिहानैदेखि आन्दोलित भएका छन्।

भेरी अस्पताल परिसरमा भेला भएर स्वास्थ्यकर्मीले पीडकमाथि कारवाहीको माग गर्दै प्रहरी, प्रशासनविरुद्ध नारा लगाइरहेका छन्। भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष आइसोलेसन वार्डमा कार्यरत स्वास्थ्यकर्मीमाथि ड्यूटीमै रहेको बेलामा बिहीबार राति आक्रमण भएको थियो।

स्वास्थ्यकर्मीमाथि आक्रमणपछि आफु लुम्बिनी प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलको मान्छे भएकाले कसले के गर्न सक्छ भन्दैै आक्रमणकारीले थप धम्काएपछि बिहीबार मध्यरातिसम्म अस्पताल परिसरमा स्वास्थ्यकर्मी आन्दोलित भएका थिए। उनीहरुले अस्पतालमा राजनीति गर्न नहुने, मुख्यमन्त्रीको आडमा स्वास्थ्यकर्मीलाई कुट्न पाइँदैन लगायतका नारा पनि लगाएका थिए।

नेपाल चिकित्सक संघलगायतका स्वास्थ्यकर्मीका १५ वटा संघसंस्थाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारबाही, स्वास्थ्यकर्मीको उचित सुरक्षा व्यवस्था गर्न माग गर्दै जिल्लास्थित सबै स्वास्थ्य संस्थामा आन्दोलनको घोषणा गरेको जनाएका छन्।

आन्दोलनरत स्वास्थ्यकर्मी घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमासमेत पुगेका थिए। घटनामा संलग्नलाई कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ। प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलेसमते घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन्। महामारीको समयमा स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु निन्दनीय भएको भन्दै चौतर्फी विरोध भएको छ।

अस्पतालको आइसीयूमा उपचाररत दाङका डिल्लीबहादुर रावतको मृत्यु भएपछि बिरामीका कुरुवासहितका व्यक्तिले स्वास्थ्यकर्मीको लापरबाहीले मृत्यु भएको भन्दै नर्समाथि सांघातिक आक्रमण गरेको आन्दोलित स्वास्थ्यकर्मीहरुले बताएका छन्।

आक्रमणबाट जोगिन एकजना डाक्टर र ४ जना नर्स शौचालयमा लुकेका थिए। आक्रमणकारीले शौचालयको ढोका फुटाएर कुट्न थालेपछि डाक्टर र नर्सको टोली दुई तले घरको शौचालयको झ्यालबाट हाम फालेर ज्यान जोगाएका थिए।