निषेधाज्ञाले रोकेन बिकास निर्माणको काम: भरतपुरमा पुल्चोकदेखि गोन्द्राङ्सम्मको ६ लेन सडक विस्तारको काम धमाधम अघी बढ्दै

0
221

चितवन, जेठ ९-

कोरोना महामारीमा चितवनमा भएको निषेधाज्ञाको परवाह नगरी भरतपुरमा नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ लेन सडक विस्तारको काम धमाधम भइरहेको छ ।

झण्डै १०० जना मजदूरले विस्तारको काम निरन्तर गरिरहेको सडक विस्तार परियोजनाले जनाएको हो । इन्डो–सगुन जेभी बुटवलले ठेक्का पाएको सडक विस्तारको काम २८ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेकोले अब काम सम्पन्न गर्न २१ महिना बाँकी छ ।

तोकिएकै समयमा काम सम्पन्न गर्ने गरी अहिलेको निषेधाज्ञाको समयमा पनि सडक विस्तार अन्तर्गत ड्रेनहरु निर्माणको कामहरु भइरहेको कन्ट्रयाक्ट म्यानेजर अनिल कार्कीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ अब मुख्य बिजुलीका पोलहरु सार्ने काम बाँकी छ । सबै पोल सारेपछि काम गर्न धेरै सजिलो हुन्छ र कामले अझै गति लिन्छ ।’ कार्कीले सडक छेउछाउका घरहरु भत्काउनको लागि पनि सडक डिभिजन भरतपुरले प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।

सडक डिभिजन भरतपुरका इञ्जिनियर शिव खनालले क्वारेन्टिनमा बसेर सुरक्षाको मापदण्ड अपनाउँदै मजदुरहरुले काम गरिरहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ निषेधाज्ञाको समयमा बिजुली नकाट्ने भन्नाले सडक छेउका बिजुलीका पोल सार्ने कामहरु रोकिएको छ । कतिपय सडक छेउका घरहरु भत्किसकेको भए पनि केही घरहरु भत्काउनको लागि अदालतको आदेशलाई पर्खिएका छौं ।’ उनले पोल सार्ने र सडक छेउका घर टहरा भत्काउने बित्तिकै सडक विस्तारले गति लिने भएकोले काम समयमानै सकिने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते यो सडक विस्तारको शिलान्यास गरेका थिए । चितवन नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी ६ लेन बनाउन लागिएको हो । ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडक अन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डलाई पनि विस्तार गर्न लागिएको हो ।

भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा अत्यधिक सवारी चापका साथै दुर्घटनासमेत बढ्न थालेकोले शहरी सौन्दर्यकरणलाई समेत ख्याल गरी ६.०८ किलोमिटर लामो सडक विस्तारको काम थालिएको सडक डिभिजन भरतपुरले जनाएको छ । २८ महिनाभित्र विस्तार गरी सक्ने सडकको लागत एक अर्ब बाह्र करोड रुपैयाँ छ ।

गत असोज २६ गते भएको सम्झौताअनुसार ठेकेदार पक्षले २०७९ साल फागुन १० गते निर्माणको काम गरिसक्नुपर्छ । टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोकसम्म अहिले दुई लेन रहेको सडक केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म चार लेन छ । यो सडकमा अहिले चौबिसकोठी, भरतपुर आरोलो र बजार क्षेत्रमा चार लेन छ ।

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान गर्ने योजना छ । सडकको दायाँबायाँ ११.५\११.५ मिटरको पिच हुनेछ । त्यसको बीचमा तीन देखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ । त्यसभन्दा पर तीन देखि चार मिटरको फुटपाथ हुने सडक डिभिजन कार्यालयले जनाएको छ । बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक फरक रहेको छ ।

पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइन भएकोले त्यसमा केही फरक हुनेछ । बीचको भागमा हरियालीसहितका फूलहरु रोपिनेछ । यही सडकखण्डमा पछि विद्युत् लाइन भूमिगत गर्ने योजनासमेत प्राधिकरणले बनाएको छ । अहिले तत्कालै भने पोल सार्ने काम हुने भएको छ । सडकका दुवैतर्फ स्मार्ट लाइट रहनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्