जन्मसिद्धका सन्तानले नागरिकता पाउने अध्यादेश जारी(विज्ञप्ती सहित)

0
319

काठमाडौं, जेठ ९ –राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी भएको छ्।

अध्यादेश अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई आमाबावु दुवै नेपाली नागरिक भए वंशजका आधारमा नागरिकता दिन मिल्ने भएको छ।

यसअघि बिहिबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय गरेको थियो।

मन्त्रिपरिषद बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो।

त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।

यो अध्यादेशपछि सरकार र जसपाको सम्बन्ध थप नजिक भएको छ।

संविधानको धारा ११ को उपधारा (३) मा  संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

यसअघि २०७५ साउन २२ मा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्