माडी नगरपालिकामा ८ शैय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर संचालनमा

0
221

चितवन, जेठ ३– चितवनको माडी नगरपालिकामा ८ शैय्याको अक्सिजनसहितको आइसोलेसन सेन्टर संचालनमा आएको छ । नगरपालिकाको शाविक कृषि शाखाको भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको हो ।

नगरपालिकाको पाँच लाख रुपैयाँको लागतमा संचालनमा ल्याइएको आइसोलेसन सेन्टर आज (सोमबार)बाट विधिवत रुपमा संचालनमा आएको हो । माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले आइसोलेसन सेन्टरका प्रमुख डा.आलोक कुमारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेसंगै औपचारिक रुपमा संचालनमा आएको हो ।

बघौंडा अस्पताल अन्तरगत स्थापित आइसोलेशन सेन्टर अपांगमैत्री समेत रहेको छ । सो सेन्टरमा ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’ सहित ज्वरो र कोरोनाका शंकास्पद बिरामीहरुलाई जाँच्ने डेस्क समेत रहेको छ ।

आइसोलेसन सेन्टर सुरुवात कार्यक्रममा नगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत अर्जुन गौतम, वडाध्यक्ष पुरन महतो, स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीलगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय माडीमा समेत कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । अहिले माडीका ८६ जना आइसोलेसनमा छन् । कोरोनाबाट माडीमा हालसम्म ६ जनाको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्