विपद् व्यवस्थापन गर्न कार्यशाला

0
140

भरतपुर,फागुन २२-भरतपुर महानगरपालिका अन्तर्गत रहेका दुईवटा विद्यालयमा विद्यालयस्तरीय विपद् व्यवस्थापन योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।
युरोपियन युनियन (युएनडिपी) को आर्थिक सहयोग र भरतपुर महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् परियोजनाले भरतपुर वडा नं. २ मा रहेको बालकुमारी मावि र भरतपुर १० मा रहेको नारायणी नमुना माविमा कार्यशाला गरेको हो । बालकुमारी माविमा शुक्रबार र नारायणी माविमा शनिबार विद्यार्थी तथा शिक्षकलाई सहभागी गराई विपद् पूर्व, विपद्को बेला र विपद्पछि गर्नुपर्ने कार्यहरुको अभ्यास गराइएको फरवार्ड नेपालका परियोजना सहयोग अधिकृत ऋषिकेश ढकालले चित्रवन अनलाइनलाई जानकारी दिए ।
विपद् जोखिमसम्बन्धी बुझाई तथा सचेतना अभिवृद्धि, प्रभावकारी आपतकालीन प्रतिकार्य व्यवस्था सुदृढीकरण, प्रतिकार्यका लागि बलियो पूर्वतयारी व्यवस्था लगायतका विपद् व्यवस्थापन सम्बन्धमा नेपाल क्रिएटिभ हाउसका सहजकर्ता शारदा बस्याल, युएनडिपी महानगर प्राविधिक अधिकृत अन्जना शर्माले अभ्यास गराएका थिए ।
बाकुमारी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत ऋषिराम शर्मा, भरतपुर २ का वडाअध्यक्ष पूर्णबहादुर श्रेष्ठ, विद्यालयका निमित्त प्रधानाध्यापक नारदप्रसाद परिहस्त लगायतले विपद् व्यवस्थापन सम्बन्धमा मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी शनिबार दिनभरि नारायणी नमुना माविमा विपद् व्यवस्थापन सम्बन्धमा केही बालबालिका र शिक्षकहरुलाई अभ्यास गराइएको निमित्त प्रअ टेकनाथ पौडेलले जानकारी दिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य राधादेवी न्यौपानेको सभापतित्वमा भएको थियो । खेल मैदानमा ड्रोन समेत उडाएर अभ्यास गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्