श्रीपञ्चमीको दिन गुरु आवास हस्तान्तरण गर्न नायक राजेश हमाल चितवन आउँदै

0
156

चितवन, माघ २९-

चितवन खैरहनीको कंकाली माध्यमिक विद्यालयका पूर्व विद्यार्थीले निर्माण गरेको गुरु आवास भवन हस्तान्तरण गर्न श्रीपञ्चमीको दिन नायक राजेश हमाल चितवन आउँदै छन् ।

स्वच्छ छबि भएका साझा व्यक्तित्वबाट गुरु आवास हस्तान्तरण गर्नुपर्ने सबैको चाहना र सल्लाह बमोजिम महानायक राजेश हमाललाई निमन्त्रणा गरिएको कंकाली पूर्वविद्यार्थी समाजका अध्यक्ष अर्जुन लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए । करिब २० लाख लागतमा निर्माण गरिएको आवास गृह हस्तान्तरण कार्यक्रम फागुन ४ गते श्रीपञ्चमीका दिन विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुने अध्यक्ष लम्सालले बताए ।

खैरहनी नगरपालिका–१ मा अवस्थित कंकाली माध्यमिक विद्यालयमा निरन्तर रुपमा ४२ वर्ष अध्यापन गरी अवकाश भएका पूर्वप्रधानाध्यापक पशुपतिलाल कर्णका लागि पूर्वविद्यार्थीले गुरु आवास निर्माण सम्पन्न गरेका छन् । कंकाली माविको स्वर्ण महोत्सवको अवसरमा गुरु आवास निर्माण अभियान सुरु गर्ने घोषणा गरेको दुई वर्षपछि निर्माणको सम्पूर्ण काम सम्पन्न गरी हस्तान्तरण गर्न लागिएको जनाइएको छ । गुरु पशुपतिलाल कर्णले पढाएका विद्यार्थीबाट सामाजिक सञ्जाल मार्फत् थोरै थोरै रकम सहयोग संकलन गरी गुरु आवास निर्माण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्