जलवायु परिवर्तनको असरः हिमनदीले निम्त्याउँदै छ ठूलो विपद्, नेपाल उच्च जोखिममा

0
219

काठमाडौं,माघ २६– पछिल्लो एक विवरणअनुसार सन् १९७५ र २००० को बीचमा प्रत्येक वर्ष औसत ४ अर्ब टन बरफ पग्लने गरेको थियो । यो २५ वर्षको अध्ययनमा आधारित तथ्यांक थियो ।

सोही तथ्यांकलाई आधार मानेर पुनः अर्को अध्ययन भयो । अध्ययनबाट पत्ता लाग्यो सन् २००० र २०१६ को बीचमा त्यो दर दोब्बर भयो । र, ८ अर्ब टन पुग्यो । यो विवरण अघिल्लो २५ वर्षको तुलनामा १६ वर्षमै झण्डै दोब्बरले बरफ पग्लियो।

सुन्दा समेत सामान्य नलाग्ने एकदमै भयंकर डरलाग्दो तथ्यांक हो यो । नेपाल पनि एक हिमाली मुलुक हो । पूर्वमा बर्मादेखि पश्चिममा इरानसम्मको उत्तरी क्षेत्रमा हिमाल र हिम श्रृखला रहेको छ ।

हिमाल भएपछि हिमनदी स्वभाविकरुपमा नै रहने भयो । जलवायु परिवर्तनका कारण संसारभर नै तापक्रममा उल्लेख्य वृद्धि भएको छ । सोही कारण हिमनदी पग्लदै गएको छ ।

विशेषगरी हिमनदी र जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा इसिमोडले अध्ययन गरिरहेको छ । इसिमोडले हिन्दकुश हिमालय क्षेत्रमा अत्यधिक मात्रामा हिमनदी पग्लिदै गएको जनाएको छ ।

पछिल्लो पटक उत्तर भारतको उत्तराखण्डस्थित हिमनदीमा बाढी आयो । त्यसबाट सयौं नागरिक बेपत्ता भएको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बाढीका कारण २०० बढी नागरिक बेपत्ता भएका छन् ।

यो समाचार तयार पार्दासम्म ११ शव प्राप्त भएको छ । चमोली जिल्लामा आइतबार ग्यासियरमा ठूलो बदलाव आएको थियो । सोही कारण तीन नदीमा अचानक पानीको तह वृद्धि भएको थियो । बाढीका कारण तपोवन हाइड्रोपावरको बाँधमा भारी मात्रामा नोक्सान पुर्याएको थियो । यस्तै, केही मजदुर भने सुरुङमा फसिरहेका छन् । बाढीका कारण पुल भत्किँदा १३ वटा गाँउको सम्पर्कविच्छेद भएको छ ।

हिमनदीको अध्ययन गरिरहेका विशेषज्ञका अनुसार हिमालयको यस क्षेत्रमा १ हजारभन्दा बढी हिमनदी छन् । तापमानमा भएको वृद्धिका कारण विशाल हिमखण्ड टुट्न गएको हो । जसका कारण भारी मात्रामा पानी निस्कन गएको छ । सोही कारण हिमस्खलन हुँदा चट्टान तथा माटो बगाएर तल्ला तटमा समस्या खडा गरेको छ । र, बाढी आएको छ ।

हिन्दकुश हिमालय क्षेत्रमा विश्वव्यापी तापमानमा आएको वृद्धिका कारण सबैभन्दा बढी प्रभाव परेको छ । जसका कारण हिमनदीमा ठूल्ठूला परिवर्तन देखा परेका छन् । ती जुनसुकै बेला पनि बिस्फोट हुने सम्भावना बढेर गएको छ ।

जब पानीको स्तर खतरनाक बिन्दुमा पुग्छ, तब त्यसले बाढीको रुप हासिल गर्छ । तल्ला तटमा रहेका सबै भौतिक संरचना नष्ट गरिदिन्छ । हिमनदीमा देखिने परिवर्तनका कारण ठूला बाढी आउँदा त्यसले उत्तरी क्षेत्रमा निर्माण गरिएका जलविद्युत् परियोजनादेखि अन्य भौतिक संरचना समेत बगाउँछन् । भारतको चमोली जिल्लामा पनि त्यही भएको छ ।

सन् २०१३ मा पनि भारतको उत्तराखण्डको केदारनाथमा तथा अन्य कयौं क्षेत्रमा प्रलयकारी बाढी आयो । भारतका उत्तराखण्डका अधिकारीका अनुसार धौलीगंगा नदीमा आएको बाढीको खास कारण पत्ता लगाउन एउटा अनुसन्धान टोली परिचालन गरिसकिएको छ ।

हिमक्षेत्रमा निरन्तर रुपमा हिउँ थुप्रिदै जाँदा माथिको हिउँको दबाबका कारण तल्लो तहको हिँउ चिप्लेर बग्ने हिउँलाई हिमनदी भनिन्छ । नेपालको सबैभन्दा ठूलो हिमनदी लाङटाङको हो भने सबैभन्दा लामो हिमनदी भने खुम्बु हिमनदी हो । सो हिमनदीको लम्बाई ३२ किलोमिटर रहेको छ । नेपालका मुख्य हिमनदीमा लाङटाङ, खुम्बु, यालुङ हन्कु, नगुम्पा, नोप्चु, टुक्चेआदि छन् ।

नेपालमा रहेका हिमक्षेत्र, हिमनदी र हिमतालहरुको अवस्था हिन्दकुश–हिमालयको हिमक्षेत्रलाई ध्रुवीय क्षेत्रपछिको सबभन्दा धेरै बरफ भण्डारण भएको क्षेत्रका रुपमा रहेको छ । इसिमोडका अनुसार बेलाबखत तेस्रो ध्रुवको नामले समेत सम्बोधन गरिने हिन्दकुश–हिमालयकै एक भाग नेपाली हिमक्षेत्रबाट निस्कने अटुट जलधारा समेट्ने ठूला नदीहरु रहेका छन् ।

खानेपानी, सिंचाई, जलविद्युत, उद्योगधन्दा आदि सबै पानीकै प्रचूरतामा निर्भर हुने भएकाले यहाँको हिमक्षेत्रमा हुनसक्ने सानो परिवर्तनले पनि तल्लो तटीय क्षेत्रको जनजीवनमा ठूलै प्रभाव पार्ने गरेको छ ।

एक अध्ययन अनुसार नेपालबाट बग्ने नदीहरुबाट हुने पानीको मात्रामा हिमाल र हिनदीको हिस्सा उल्लेख्य रहेको छ ।

नेपाललगायत हिन्दकुश–हिमालय क्षेत्रमा रहेको बरफको सञ्चितीमा हुने परिवर्तनले विश्व समूदायको ध्यान यता आकर्षित गरेको इसिमोडको अध्ययनमा उल्लेख छ ।

नेपालको हिमक्षेत्रको मात्रा कति छ भन्ने यथार्थ जानकारी नभए तापनि करिब १५ प्रतिशत उत्तरी क्षेत्र हिउँ र बरफले ढाकिएको मानिन्छ ।

यहाँबाट निस्किएका नदीहरुनै तल्लो तटीय क्षेत्रमा रहेका बस्तीका लागि पानीको स्रोतका मुख्य आधार हुन् । नेपालका हिमालयमा रहेका हिमनदीहरुको आयतनमा परिवर्तन भएमा यस क्षेत्रमा ठूलै भौतिक, आर्थिक तथा सामाजिक प्रभाव पार्न सक्ने देखिन्छ ।

हिमक्षेत्रमा ह्रास आउनु र हिमताल बन्नु वा बनिसकेका हिमतालको क्षेत्रफलमा परिवर्तन हुनु एक अर्कासँग सम्बन्धित प्रक्रिया रहेको इसिमोडको अध्ययनमा उल्लेख छ ।

नयाँ हिमतालको श्रृजना भएमा, श्रृजित हिमतालको क्षेत्रफलमा परिवर्तन भएमा वा हिमताल बिष्फोटनको सम्भावना देखिएमा यसको कारणहरुबारे सामयिक अध्ययन अनुसन्धान गरी तल्लो तटीय क्षेत्रमा हिमताल बिष्फोटनको बाढीबाट पर्न सक्ने प्रभाव न्यूनिकरणमा ठोस योगदान पुर्याउन सकिन्छ ।

एक देशमा हिमताल बिष्फोटन भएर अर्को देशमा नोक्सान पुर्याएको घटनाको रुपमा सन् १९६४ र १९८१ मा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको जाङजाङबो हिमतालको बिष्फोटनको बाढीले नेपालको सीमानाभित्र पुर्याएको क्षतिलाई लिन सकिन्छ ।

एउटै देशभित्र सीमित घटनाको रुपमा सन् १९८५ मा नेपालको खुम्बू क्षेत्रको डिग चो हिमतालको बिष्फोटनलाई लिन सकिन्छ ।

यस्तै, हिमालय क्षेत्रमा मानिसको जानकारीमा रहेको अहिलेसम्मकै सबभन्दा ठूलो र विनाशकारी हिमजलाशय बिष्फोटनको घटना भने सन् १९५४ को ब्रम्हपुत्र नदीको मुहान क्षेत्रमा रहेको साङबाङचो हिमजलाशय बिष्फोटनको बाढीलाई नै मानिएको छ ।

जसले मुहानबाट १२० किमि टाढा रहेको ग्यात्से शहरमा धेरै क्षति पुर्याएको थियो भने २०० किमि टाढा रहेको शिगात्से शहरमा पनि नोक्सान गरेको थियो ।

नेपालमा हिमताल बिष्फोटनको अध्ययन नेपाल लगायत हिन्दकुश–हिमालय क्षेत्रमा इसिमोडले यसका शुरुका दिनदेखि हिमक्षेत्र र यससँग सम्बन्धित विषयहरुबारे सन् १९८१ मा जाङजाङबो हिमताल बिष्फोटनको बाढीको पछि खिचिएको क्षतिग्रस्त कोदारी राजमार्ग (बाया) र नारे हिमताल बिष्फोटनले छोडेको बाढीको असर नेपालमा रहेका हिमक्षेत्र, हिमनदी र हिमतालहरुको अवस्था हिन्दकुश–हिमालयको हिमक्षेत्रलाई ध्रुवीय क्षेत्र पछिको सबैभन्दा धेरै बरफ भण्डारण भएको कारणले बेलाबखत तेश्रो ध्रुवको नामले समेत सम्बोधन गरिन्छ ।

नेपालबाट बग्ने नदीहरुबाट हुने पानीको मात्रा उल्लेखनीय मानिन्छ । यिनै कारणहरुले गर्दा नेपाल लगायत हिन्दकुश–हिमालय क्षेत्रमा रहेको बरफको सञ्चितीमा हुने परिवर्तनले विश्व समूदायको ध्यान यता आकर्षित गरेको हो ।

डिग चो हिमतालको बिष्फोटनपछि आएको बाढीले करीब १५ लाख अमेरिकी डलरको लागतमा निर्माणाधिन नाम्चे साना जलविद्युत परियोजना ध्वस्त पार्नुका साथै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यापक क्षति पुर्याएको थियो ।

भोटेकोशी, तामाकोशी र अरुण नदीमा बिभिन्न समयमा आएका धेरै हिमताल बिष्फोटनपछिका बाढीहरु तिब्बत क्षेत्रमा शुरु भएका कारण त्यति चर्चामा आएनन् । कतिपय अवस्थामा यसलाई माथिल्लो तटीय क्षेत्रमा भएको मुसलधारे वर्षाको परिणाम हो भन्ने पनि ठानियो ।

हिमताल बिष्फोटन हुँदा बरफ, ढुङ्गा र माटोले बनेको बाँध फुटाइ हिमतालमा रहेको अधिकांश पानी एकैपटक निस्कनाले अचानक बाढीको रुप लिई तल्लो तटीय क्षेत्रमा आउने गरेको छ ।

मुसलधारे वर्षापछि आउने वा माथिल्लो क्षेत्रमा भू–स्खलनपछिको बाँध फुटाएर आउने प्रकृतिको ठूलो र प्रलयकारी बाढी देखिन्छ । प्रत्यक्षदर्शीहरुका अनुसार यो बाढी मेघ गर्जेजस्तो आवाज गर्दै हिलोको गन्धसहित ठूला ढुङ्गा र रुख समेटिएको पानी र हिलो सरोवर भएको हुन्छ ।

अग्लो पर्खाल सरेजस्तो सर्दै आउने हुनाले बाटोमा पर्ने सबैथोक सोहरेर लैजान्छ । यस्तो बाढी आउदा केही समय किनाराका क्षेत्रमा बितण्डा मच्चाउँछ र ठूलो बिनाश छोडेर जान्छ । यसरी हिमताल बिष्फोटनले छाडेका बिनाशको असर आउँदा धेरै वर्षसम्म पनि देखिने इसिमोडको अध्ययनमा समेटिएको छ ।

भारतमा आइतबार मात्रै आएको बाढीपछि स्थानीयले सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धौलीगंगा नदीको छेउछाउमा रहेका बस्तीमा डुवान भएको छ । नदी क्षेत्रमा धेरै नोक्सानी पुर्याएको भिडियोहरूमा देखिन्छ ।

हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ ।

इन्डो–तिब्बती सीमा प्रहरीले चमोलीबाट दिएको जानकारीअनुसार हिमपहिरोका कारण आएको बाढीका कारण तपोवन क्षेत्रमा फसेका कम्तीमा १६ जनालाई आइतबार प्रहरीले सकुशल उद्धार गरेको थियो ।

न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अघिल्लो २५ वर्षको तुलनामा गत दुई दशकमा हिमनदीहरूको बरफ पग्लने दर दोबर बढेको पत्ता लगाएका छन् ।

बीबीसीका अनुसार वैज्ञानिकहरूले अमेरिकी जासुसी भूउपग्रहले विगतमा खिचेका तस्बिरसँग हालसालैका अन्तरिक्ष यानका तस्बिर दाँज्दा सो क्षेत्रमा गत ४० वर्षमा हिमनदी दोब्बर दरले पग्लिएको निचोड निकालेका थिए ।

सन् २००० यता हिमनदीका उचाइ प्रतिवर्ष औसतमा आधा मिटरले कम हुँदै गएको सो अध्ययनले देखाएको छ । सो अनुसन्धान साइन्स एडभान्सेस नामक जर्नलमा प्रकाशित भएको छ । जलवायु परिवर्तनलाई अनुसन्धानकर्ताहरूले यसको मुख्य कारण बताएका छन् ।

हिमनदीहरू खुम्चँदै जाँदा तिनले नदी प्रणालीलाई पुर्याउने योगदान कम हुँदै जानेछन् । यसले तल्लो तटमा बस्ने करोडौँ मानिसका लागि पानी आपूर्तिमा असर पर्छ । साथै थप सुख्खा क्षेत्र हुनेछन् किनकी मनसुन सक्रिय नभएका बेला यिनै हिमनदीले पानी प्रवाह गर्छ ।

सन् १९७० तथा १९८० ताका एक अमेरिकी जासुसी कार्यक्रम थियो जसको गोप्य नाम हेक्जागन राखिएको थियो । सो कार्यक्रम अन्तर्गत २० वटा भूउपग्रह पृथ्वीको गोप्य फोटोहरू खिच्न अन्तरिक्षमा पठाइएको बीबीसीले गत वर्ष प्रकाशति गरेको समाचारमा उल्लेख थियो ।

कोलम्बिया विश्वविद्यालयको टोलीले २ हजार किलोमिटरमा फैलिएका ६५० हिमनदी अध्ययन गरेका थिए । दीर्घकालमा, सुख्खा याममा हिमनदी पग्लिएर आउने पानीमा निर्भर दशौँ लाख मानिसहरू वास्तविकरुपमा कठिनाइमा पर्न सक्ने अध्ययनमा देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्