रेडियो देवघाटको दशौं वार्षिकोत्सव, चार जना कर्मचारी सम्मानित

0
148

देवघाट, माघ २६–

तनहुँको देवघाटमा रहेको रेडियो देवघाटको दसौं वार्षिकोत्सवका अवसरमा चार जना कर्मचारी सम्मानित भएका छन् । सोमबार भएको दसौं वार्षिकोत्सवका अवसरमा रेडियोका स्टेशन म्यानेजर सुवास लामिछाने, बजार प्रबन्धक गोपालचन्द्र न्यौपाने, प्राविधिक खगराज गुरुङ र सुरक्षाकर्मी खड्गबहादुर बाचे नगदसहित सम्मानित हुनुभएको हो ।

दसौं वार्षिकोत्सवको अवसरमा सोमबार नै भएको महिला समूहस्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रगतिशील महिला समूह पहिलो, गणेश सामुदायिक महिला समूह दोस्रो र सिद्धिविनायक महिला समूह तेस्रो भएका छन् । विजेता समूहलाई नगद सहित शिल्ड र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै देवघाट–५ मा रहेका विद्यार्थीहरुलाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको छ ।

समापन कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले सामुदायिक रेडियो देवघाटले सञ्चार क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । थापाले देवघाट गाउँपालिकाको सकारात्मक सन्देश र समाचार रेडियोले प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । सोही कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका निर्वतमान अध्यक्ष शिवराज पौडेलले रेडियो देवघाटका संस्थापक अध्यक्ष स्वर्गीय भक्तिप्रसाद तिमिल्सेनाले गरेको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा रेडियो देवघाटका कार्यवाहक अध्यक्ष विजयराज शर्मा भुसालले रेडियोको विकास र नियमित सञ्चालनमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछानेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य रेडियोका महासचिव निरन्जन हाडाले राख्नुभएको थियो । रेडियोका कार्यवाहक अध्यक्ष विजयराज शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी महिला समूह र रेडियोलाई सहयोग प्रदान गर्नेलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्