सौराहामा ९५ प्रतिशत बढी स्वदेशी पर्यटक, पोखरा र लुम्बिनी भन्दा सस्तो

0
195

काठमाडौँ, माघ २४-

बिहान उठ्नेबित्तिकै राष्ट्रिय निकुञ्जसँग लुकामारी गरेर कानसम्म ठोकिन आउने हावा, हावासँगै लोकल गाईभैंसीको दुधबाट बनेको चिया÷कफी, आफ्नै खेतबारीमा फल्ने चामल, सागसब्जी र मासु, थारुहरुको सांस्कृतिक मेला, ओशो ध्यान केन्द्र । यी सबैको लागि सबैभन्दा उपयुक्त ठाउँ हो, सौराहा ।

तर, यी त बाइप्रोडक्ट मात्रै हुन् । जंगल सफारी (सवारी साधनमा जंगलको दृश्यावलोकन), हात्ती सफारी, राप्ती नदीमा गरिने डुंगा सवारी यहाँको मुख्य आकर्षण हो । प्रकृतिसँगको यी साधिन्यताका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु यहाँ आउँछन्, सन्तुष्टिको अमूल्य सम्पत्तिलाई केही हजारको मौद्रिक मूल्यमा साटफेर गरेर ‘सम्पन्नशाली’ भएर जान्छन् । एक वाक्यमा दिन सकिने सौराहाको परिचय यही हो ।

२०३१ सालतिर अमेरिकनहरु यो ठाउँमा २ तले बस लिएर घुम्न आउँथे । कतिपय हिप्पीहरु पनि यो क्षेत्रमा आउने गर्थे । त्यतिबेलासम्म यो क्षेत्रलाई राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको थिएन । राष्ट्रिय निकुञ्ज घोषणा नभएसम्म यो क्षेत्रमा शिकार गर्न पनि कुनै रोकतोक थिएन । तर, विदेशीको आगमन बढ्न थालेसँगै वनजंगलमा रहेका बहुमूल्य बनस्पति तथा जीवजन्तुहरुको रक्षाका लागि यो क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो । त्यसबेला देखि नै यो क्षेत्रमा विदेशी पर्यटक बढ्न थालेको स्थानीय होटल व्यवसायी केशव खनाल बताउँछन् ।

अहिले यो निकुञ्ज ९३ हजार २ सय हेक्टरमा फैलिएको छ । यो नेपालकै पाँचौं ठूलो राष्ट्रिय निकुञ्ज हो । यो जंगली हात्ती, एक सिंगे गैँडा र पाटे बाघ, हरिण, चित्तल, बाँदर लगायत जनवार तथा पशुपंक्षीको मुख्य बसोबार रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । यद्यपि यो क्षेत्रको सुरक्षाको जिम्मा भने नेपाली सेनाले लिँदै आएको छ । वन क्षेत्रको संरक्षण हुँदै जाँदा मध्यवर्ती क्षेत्रमा जंगली जनावरको संख्यामा निकै बढोत्तरी हुँदै आएको छ । जंगल सफारीको क्रममा पहिले निकै दुर्लभ मात्रै देखिने बाघ अहिले पटकपटक देखिन थालेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

कोभिडको सुनामीमा सौराहाको पर्यटन

पोखरा–सौराहा–लुम्बिनी यो गन्तव्यलाई अहिले टुरिजम ट्रयाङ्गलको रुपमा अथ्र्याइन्थ्यो । विदेशबाट आउने सस्तादेखि महँगासम्म अधिकांश पर्यटक यी तीनवटै गन्तव्यमा पुग्न सकिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट २०० किलोमिटरको पोखरा, २६० किलोमिटरको लुम्बिनी र १६५ किलोमिटर सडक दूरी र २० मिनेटको उडानमा यी तीनवटै स्थानमा पुग्न सकिन्छ । समय तथा लागतमा विविधिकरण भएका कारण थोरै समय बस्न चाहनेदेखि धेरै समय बस्न चाहनेदेखि थोरै खर्च गर्न सक्नेदेखि धेरै खर्च गर्नेहरु पनि यो स्थानमा आउने गरेको व्यवसायी होटल व्यवसायी को भनाइ छ ।

‘सरकारले यो वर्ष २० लाख पर्यटक ल्याउँछौं भनेको थियो । कोभिड नभएको भए २० नभए पनि १५ लाखसम्म विदेशी पर्यटक आउँथे होलान् । तीमध्ये धेरैजसो विदेशी सौराहा घुम्न आउँथे,’ खनाल भन्छन्, ‘कोभिडले गर्दा खत्तमै भयो । अहिलेसम्म कतिपयले त ताल्चा खोलेका पनि छैनन् । कतिपयले भने थोरै कर्मचारी राखेर थोरैलाई सेवा गर्नेगरी होटल खोलेका छन् ।’

क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहा क्षेत्रका होटलमा अहिले पनि २५ प्रतिशत भन्दा बढी कर्मचारी आउन सकेका छैनन् । कोभिड अघिसम्म यो क्षेत्रको होटलमा करिब ६ हजार ५०० कर्मचारी कार्यरत थिए । अहिले यस्तो संख्या २ हजार भन्दा कम रहेको अवस्था छ । बिदाको दिनमा हुने पर्यटकको चापलाई धान्न केही होटलले आंशिक कर्मचारी हायर गर्ने गरेको उनको भनाई छ ।

भ्रमणको शैली परिवर्तन

अहिले सौराहाको पर्यटनको अधिकांश हिस्सा स्वदेशी पर्यटकले नै धानेको छ । अहिले ९५ प्रतिशत भन्दा बढी हिस्सा अहिले स्वदेशी नागरिक रहेको व्यवसायीहरु बताउँछन् । फाट्टफुटट आउने भारतीय नागरिक बाहेक यतिबेला विदेशी नागरिक आउन छाडेका छन् । अहिले सो क्षेत्रका होटलको औसत अकुपेन्सी २५ प्रतिशत हाराहारीमा रहेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष भट्टराई बताउँछन् ।

उनका अनुसार विगतमा यो होटलमा ८० प्रतिशतसम्म मात्रै अकुपेन्सी हुन्थ्यो, भएन भन्दा पनि ५० प्रतिशत माथि हुन्थ्यो । कोभिड महामारीका बाबजुद यस्तो अकुपेन्सी अहिले ३०\३५ प्रतिशतको हाराहारीमा मात्रै छ । कार्यालय खुला हुने दिन होटल खाली हुने भएकोले औसत अकुपेन्सी घटेको अध्यक्ष भट्टराईको भनाइ छ ।

त्यसो त, सो क्षेत्रको पर्यटनको शैलीमा भने निकै परिवर्तन आएको छ । कोभिड महामारीअघि सौराहाका व्यक्तिगत र पारिवारिक रुपमा घुम्न आउनेको संख्या बढी थियो । अहिले यो ट्रेन्ड परिवर्तन भएको छ । क्षेत्रीय होटल संघ चितवनका निवर्तमान अध्यक्ष सुमन घिमिरेका भन्छन्, ‘अहिले सभा, समारोह, गोष्ठी लगायतका लागि आउनेको संख्या बढी छ । बदलिँदो आवश्यकतालाई हेरेर होटलहरुले कन्फ्रेन्स हलको विस्तार गर्न थालेका छन् ।’

स्वदेशीले धान्ला सौराहाको पर्यटन ?

आन्तरिक पर्यटक बढ्दै जाँदा होटलको अहिले अधिकांश हिस्सा स्वदेशी पर्यटकले ओगट्न थालेको छ । तर, के अब विदेशी पर्यटक बिनै पनि होटल व्यवसाय चल्नसक्ने अवस्था भएको हो त ? व्यवसायी खनाल स्वदेशी पर्यटक बढ्यो भन्दैमा विदेशी पर्यटकको महत्व कम नहुने बताउँछन् । उनका अनुसार नेपाली पर्यटकलाई भ्रमणको सभ्यता सिकाउन पनि विदेशी पर्यटक आइराख्नु जरुरी छ ।

‘२० वर्ष अघिसम्म नेपालीलाई भ्रमण के हो भन्ने पनि थाहा थिएन । होटलमा बस्ने विदेशी पर्यटक र स्वदेशी पर्यटको व्यवहारमा आकाश जमीनको फरक हुन्थ्यो । अहिले नेपाली पनि सभ्य रुपमा भ्रमण गर्न सिकेका छन्,’ खनाल भन्छन्, ‘व्यवसायिक रुपमा विदेशी भन्दा नेपालीले धेरै खर्चिला छन् । कमाईको हिसाबले विदेशी पर्यटक नआए फरक नपर्ने अवस्था आउन सक्ला । तर, भ्रमणलाई भ्रमणजस्तो बनाउनकै लागि पनि विदेशी पर्यटकको आवश्यकता हुन्छ ।’

त्यसो त, विदेशी पर्यटक आउँदा होटलहरुको अकुपेन्सी स्थिर हुन्थ्यो । धेरै खर्च नगरे पनि विदेशी पर्यटक आउँदा कर्मचारीहरुले निरन्तर काम पाउने अवस्था हुन्थ्यो । स्वदेशी पर्यटक आउँदा कहिले बुकिङ धान्नै नसक्ने हुन्छ, कहिले खाली हुने अवस्था आउने गरेको व्यवसायीहरु बताउँछन् ।

‘हामीले एक प्रकारले सहमति गरेर कर्मचारीलाई बिदामा राखेका हुन्छौं, तर होटल भरिँदा उहाँहरुलाई फेरि बोलाउनुपर्छ । खाली हुँदा उनीहरुलाई कामै दिन सकिँदैन,’ एक होटल व्यवसायी भन्छन्, ‘अहिले हामीकहाँ ८० प्रतिशत स्टाफ आइसकेका छन् । कहिले सबैलाई भ्याइनभ्याई हुन्छ, कहिले कामै पाउँदैनन् ।’

सौराहामा पोखरा र लुम्बिनीको ‘ओझेल’

त्यसो त अहिल पनि आन्तरिक पर्यटनको पहिलो गन्तव्य सौराहा बन्न सकेको छैन । छोटो बसाइँको घुमघामका लागि धेरैजसोले पोखरालाई नै रोज्ने गर्छन् । लुम्बिनी दोस्रो रोजाइमा पर्ने गरेको छ । त्यसपछि मात्रै सौराहालाई सम्झिने गरेको व्यवसायीहरु बताउँछन् ।

आन्तरिक पर्यटकहरुको ध्यान खिच्नकै लागि क्षेत्रीय होटल संघले विभिन्न स्थानमा प्रचारात्मक अभियान सञ्चालन गरेको संघका कार्यालय सचिव दीपेन्द्र श्रेष्ठको भनाइ छ । संघले यसअघि वीरगञ्ज, विराटनगर, जनकपुरधाम लगायतका स्थानमा ‘घुमौं सौराहा अभियान’ चलाइसकेको छ ।

जिल्ला समन्वय समिति, नगरपालिका लगायतका प्रतिनिधि समेत सम्मिलित भई सञ्चालन भएको अभियानका क्रममा होटल बुकिङ गर्नेलाई आकर्षक छुटको व्यवस्था गरिएको थियो । यही कारणले नयाँ वर्षमा पूर्वबाट सौराहा घुम्न आउनेको संख्या उल्लेख्य रुपमा बढेको पाइएको उनको भनाई छ । अहिले संघले काठमाडौं, पोखरा र पश्चिमी क्षेत्रमा समेत यसको प्रचारप्रसार गर्न लागेको श्रेष्ठ बताउँछन् ।

कति महँगो छ सौराहा ?

सौराहा क्षेत्रमा अहिले साना ठूला गरी १०८ वटा पर्यटन होटल छन् । यी होटलहरुमा करिब ३४ अर्ब रुपैयाँ लगानी रहेको क्षेत्रीय होटल संघको तथ्यांक छ । सो क्षेत्रका अधिकांश होटलले स्टार होटल सरहको सुविधा दिन्छन् । तर, अहिलेसम्म कुनै पनि होटलले स्टारको मान्यता पाएका छैनन् ।

अहिले ती होटलमा ६०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मका रुमहरु पाइन्छन् । खानाको मूल्य पनि ७०० देखि माथि पर्ने व्यवसायीहरुको भनाइ छ । यो पोखरा, लुम्बिनी लगायतको स्थान भन्दा सस्तो हो । कोभिड–१९ महामारीपछि होटल तथा खानाको मूल्यमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने गरेको व्यवसायीहरु बताउँछन् ।

रातोपाटीबाट सभार

तपाइको प्रतिक्रिया दिनुहोस्