निर्माणाधिन क्रीकेट रंगशालालाई सहयोगार्थ भोलि स्टार क्रिकेट हुँदै, कलाकार र खेलाडी चितवनमा

0
316

चितवन,माघ २४- चितवनको भरतपुर महानगरपालिका १६ मा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोगार्थ शनिबार स्टार क्रिकेट २०२१ हुँदैछ । रंगशालालाई आर्थिक सहयोग जुटाउनका लागि सेलिब्रेटीहरुबीच स्टार क्रिकेट २०२१ हुन लागेको हो । खेल बिहान १० बजे हुनेछ ।                        प्रतियोगितामा सहभागी हुनका लागि कलाकार र खेलाडीहरु चितवन आइपुगेका छन् । उनिहरुलाई आज भरतपुर बिमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरिएको थियो । खेलका लागि कलाकार सुनिल थापा, गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, प्रकाश सपुत, सुरक्षा पन्त, दीपक विष्ट, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मिस नेपाल वर्ल्ड २०१८ शृखंला खतिवडा, दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, रवि ओड लगायतका कलाकार तथा खेलाडीहरु चितवन आइपुगेका हुन् ।

राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले रंगशाला निर्माणका लागि सहयोग गर्न सबैसँग अपिल गरे । गायक रामकृष्ण ढकालले रंगशाला निर्माणका लागि भोलि खेल हुन लागेकोले उपस्थित भइ सक्दो सहयोग गर्न आग्रह गरे । अभिनेत्री सुरक्षा पन्तले निर्माणाधिन रंगशलामा आउन पाउँदा निकै खुशी लागेको बताईन् । उनले कलाकारको हिसाबले कसरी सहयोग गर्न सकिन्छ भनेर नै खेल खेल्नका लागि आएको बताईन् । यस्तै उनले सबैलाई सहयोगका लागि अपिल पनि गरेकी छिन् ।

गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने स्टार क्रिकेटमा नेपालका चर्चित खेलाडी र कलाकारहरु सहभागी हुनेछन् । चलचित्र संगीत र खेलकुदका ४० भन्दा बढी सेलेब्रेटीलाइ दुई समूह बाँडिएको छ । दुई टिमको नेतृत्व सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले गर्नेछन् । प्रतियोगिताबाट संकलित रकम रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्