फागुन १ देखि ३ गते सम्म सौराहा फुड फेष्टिवल हुदै

0
195

चितवन, माघ २२- 

कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । चलाएमान हुदै गएको सौराहाको पर्यटन व्यवसायलाई गति दिन सौराहा फुड फेष्टिवल हुने भएको छ।

१५ औं संस्करणको सौराहा फुड फेष्टिवल फागुन १ देखि ३ गते सम्म हुने छ । प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई आकर्षण गर्न फुड फेष्टिवल गर्न लागिएको रेस्टुरेण्ट एण्ड बार एसोसियसन रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए। उनले भने, “हामीले घुमौं सौराहा गरिसकेका छौ । सौराहा कोभिडबाट एकदम सुरक्षित छ। सौराहा सुरक्षित छ भन्ने सन्देश दिन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन फुड फेष्टिवल गर्न लागेका हौँ।”
उनका अनुसार सरकारले लागु गरेको स्वास्थ्य सुरक्षा सजगता अपनाएर कार्यक्रम गर्न लागिएको छ । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सबै होटल पूर्ण रुपमा खुलेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको छ।

व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नं २ र ३ का मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षक हुन् ।

यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्