निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई पैसा जुटाउन ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने

0
179

चितवन,माघ १७-

चितवनमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ । शनिबार राजधानीमा आयोजित प्रेसमिटमा टीम धुर्मुस र टीम सुन्तलीबीच प्रतिस्पर्धा हुने जानकारी दिइयो । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी दुई समूहमा बाँडिएर क्रिकेट खेल्नेछन्।

दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने भएका छन् । माघ २४ गते निर्माणाधीन रंगशालामा प्रतियोगिता हुने भएको छ ।

प्रेसमिटमा बोल्दै आयोजक संस्था गृष्म ब्रोडकास्टिङ मिडियाका अध्यक्ष गृहेन्द्र घिमिरेले टुर्नामेन्टबाट संकलन हुने रकम रंगशालाको निर्माणमा प्रदान गरिने बताए ।

कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अन्तर्गत टुर्नामेन्ट आयोजना गरिएको उनले जनाए । तेक्वान्दो खेलाडी दीपक विष्ट र अभिनेता सन्दीप क्षेत्रीले सामाजिक काममा सक्रिय हुन पाउँदा आफूहरु उत्साहित भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्