विद्युतीय शवदाह गृह केही दिन बन्द, अत्यावश्यक परे सञ्चालनमा ल्याइने

0
241

काठमाडौं, जेठ ४–

पशुपति क्षेत्रस्थित विद्युतीय शवदाह गृह केही दिनका लागि बन्द भएको छ। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको शनिबार राति अन्त्येष्टिपछि सरसफाइका लागि गृह बन्द गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ।

‘शनिबार कोरोना संक्रमित युवतीको अन्त्येष्टि गरियो। केही दिन सरसफाइ र स्यानिटाइजमा लाग्नेछ। त्यसपछि नियमित काम हुन्छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले सेतोपाटीसँग भने, ‘सुरक्षाका लागि बन्द गरिएको हो। हिजो गृहमा काम गरेका कर्मचारी पनि क्वारेन्टाइनमा छन्।’

ढकालका अनुसार गृह पूर्ण स्यानिटाइज गर्न केही दिनका लागि बन्द गरिएको हो। तर अत्यावश्यक परेमा यो अवधिमै पुनः सञ्चालनमा ल्याइने छ।

आवश्यक नपरे केही दिनपछि मात्र सञ्चालनमा ल्याइने बताउँदै उनले भने, ‘आजै आवश्यक परे गृह सञ्चालन गर्न समस्या छैन। तर सरसफाइका लागि केही दिन बन्द गर्ने निर्णय भएको हो।’

तपाइको प्रतिक्रिया दिनुहोस्