पहिलो कोरोना मृतकको शव यसरी पुर्‍यायौं पशुपति

0
306

राजेश गैजू(स्काउटर),भक्तपुर-

कोरोना संक्रमणबाट शनिबार धुलिखेल अस्पतालमा मृत्यु भएकी युवतीको अन्त्येष्टि म र मेरो समूहले गर्‍यो। यो हामी सबैका लागि नौलो अनुभव रह्यो।

हामी त्यति बेला भक्तपुर अस्पतालमा थियौं। वीर दल गणका कर्णेल शिवप्रसाद पौडेलले हामीलाई ब्यारेकमा बोलाउनुभयो। हामी ब्यारेक पुग्यौं। महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी पनि त्यहीँ आउनुभयो।

धुलिखेल अस्पतालमा मृत्यु भएका कोरोना बिरामीको शव कसरी व्यवस्थापन गर्ने भनेर डाकिएको रहेछ। शव लैजान भक्तपुरबाट गाडी व्यवस्था गरिएको रहेछ। त्यति बेलासम्म फिल्डमा को-को जाने दुबिधा थियो।

तालिम लिएअनुसार हामी शव व्यवस्थापन गर्न तयार भयौं। उहाँहरूले पनि हामीलाई नै पठाउने निर्णय गर्नुभयो।

म व्यक्तिगत रूपमा अन्त्येष्टिको कामसँग अभ्यस्त छैन। त्यसमाथि हामी संसारै हल्लाइरहेको कोरोना संक्रमित बिरामीको शव व्यवस्थापनमा जाँदै थियौं।

सबभन्दा पहिला त शवको सामना कसरी गर्ने भन्ने चिन्ता थियो। शव हेरेर मात्र हाम्रो काम पूरा हुन्थेन, त्यसलाई उठाएर पशुपतिसम्म लैजानुपर्थ्यो। यस्ता काममा शारीरिक रूपले मात्र तयार भएर हुँदैन, मानसिक रूपमा पनि तयार हुनुपर्छ।

मैले यसअघि पिसिआर र र्‍यापिड टेस्टमा पनि नजिकबाट काम गरेको छु। त्यति बेला के आत्मबल थियो भने, ती मान्छेलाई कोरोना नलागेको पनि हुनसक्छ। हिजो जो मान्छेको काम हामी गर्दै थियौं, उसको त कोरोना पुष्टि भएर मृत्युसमेत भइसकेको छ। हामी सिधै भाइरस छुन गइरहेका थियौं।

के होला, कसो होला भनेर हतास नै भइयो। कदाचित् आफूलाई संक्रमण भए अरूलाई पनि सर्छ कि भन्ने डर थियो। विदेशमा सुरक्षा उपकरण प्रयोग गरेर अग्रपंक्तिमा काम गरिरहेकाहरूलाई संक्रमण भएको रिपोर्ट आइरहेको छ। हामी धेरैले पिपिई लगाएपछि सुरक्षित हुने ठानेका छौं। तर, पिपिई लगाएर मात्र सुरक्षित हुने होइन। त्यसलाई खोल्दा पनि उत्तिकै सावधानी अपनाउनुपर्छ।

विश्व स्वास्थ्य संगठनको रिपोर्टले भनेको छ- पिपिई सुट खोल्ने तरिका नजान्दा धेरैलाई कोरोना संक्रमण देखिएको छ।

विदेशको अनुभव र तालिममा सिकेको विधिका आधारमा धुलिखेल अस्पतालबाट शव उठाएर पशुपतिको विद्युतीय शवदाह गृह लैजाँदासम्म हामीले उच्च सतर्कता अपनाएका थियौं। अहिलेसम्म उत्तम मानिएको विधि नै सावधानीपूर्वक प्रयोग गरेका छौं। सकेसम्म सानो गल्ती पनि हुन दिएका छैनौं।

जबदेखि भक्तपुरमा दुई जना संक्रमित देखियो, त्यसपछि हामी घर गएका छैनौं। अस्पतालमै छौं। हिजो धुलिखेल जानुअघि र अहिलेसम्म परिवारसँग कुराकानी भएको छैन। उहाँहरू निश्चिन्त हुनुहुन्छ भन्ने विश्वास छ।

पहिलो मृत्युको केसमा काम गरेको अनुभव भयो। अब डर लाग्दैन। हामी जति बेलै तयार छौं, सेवाबाट पछि हट्दैनौं।

सेतो पाटी बाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्